गुगलको भाषिक अनुवाद सेवा गुगल ट्रान्सलेटबाट अब बोलेका कुरालाई समेत आफुले चाहेको भाषामा अनुवाद गर्न सकिने भएको छ ।
गुगलले आफ्नो ट्रान्सलेट एपमा यस्तो भाष्य अनुवाद फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको ब्लग पोष्टमा जनाएको छ ।
आइओएस तथा एन्ड्रोइड दुबै प्रयोगकर्ताले अब कुनै कुरा बोलेर त्यसको लिखित अनुवाद गुगल ट्रान्सलेट मार्फत प्राप्त गर्न सक्नेछन् ।
लिखित अनुवाद उपलब्ध गराउँदै आएका ९० वटा भाषामा मात्र यस्तो बोलीको अनुवाद सेवा उपलब्ध हुनेछ ।
गुगल ट्रान्सलेटका प्रडक्ट प्रमुख बाराक टरोभ्स्कीले स्थानीय भाषा बुझ्ने कुरा कुनै ठाउँ भ्रमण गर्दाको सबैभन्दा कठीन काम रहेको भन्दै अब गुगल ट्रान्सलेट नयाँ पथप्रदर्शक बन्ने दाबी गरेका छन् ।
कसरी गर्ने बोली अनुवाद ?
· होम स्क्रिन ट्याबमा माइक्रोफोन बटनलाई ट्याप गर्नुहोस्
· त्यसपछि स्पिक नाओ भन्ने संकेत आएपछि आफुले चाहेको कुरा बोल्नुहोस्
· जब तपाइँले बोल्न बन्द गर्नुहुन्छ तब स्पिच रिकग्निसन सर्भिसको माध्यमबाट गुगल एपले तपाइँले बोलेको भाषा पहिचान गर्नेछ र तपाइँले छानेको भाषामा लिखित रुपमा अनुवाद गर्नेछ ।
गुगलले आफ्नो ट्रान्सलेट एपको वर्ड लेन्स टुललाई समेत परिमार्जन गरेको छ ।
वर्ड लेन्स टुल यस्तो फिचर हो जसको माध्यमबाट कुनै पनि लिखित कुराको तस्वीर खिचेर त्यसलाई समेत विभिन्न ३६ भाषामा अनुवाद गर्न सकिन्छ ।
अब प्रयोगकर्ताले मोबाइलमा इन्टरनेट बिनै यो एपमा गएर कुनैपनि टेक्स्टमा मोबाइलको क्यामेरा फोकस गरेसँगै स्क्रिनमा तत्कालै उक्त टेक्स्टको अनुवाद गरिएको टेक्स्ट प्राप्त गर्न सक्छन् । यद्यपि यो सेवा तत्कालका लागि अंग्रेजी, फ्रेन्च, जर्मन, इटालियन, पोर्चिगिज, रसियन र स्पेनिस भाषामा मात्र उपलब्ध छ । अन्य भाषामा समेत यो द्रुत अनुवाद सेवा उपलब्ध गराउने गुगलले जनाएको छ ।
गुगलका अनुसार हरेक महिना ५० करोड मानिसले गुगल ट्रान्सलेट प्रयोग गर्छन् र गुगल ट्रान्सलेटमा एक दिनमा १ अर्ब पटक अनुवाद गरिन्छ ।
गुगल ट्रान्सलेटमा गरिएको पछिल्लो अपडेटले फोनलाई विश्वव्यापी अनुवादक बनाउने र सूचना पत्ता लगाउने वा एक अर्कासँग सम्पर्क स्थापित गराउने काममा भाषाको अड्चन हटाउने दिशातर्फ नजिग पुराएको दाबी गुगलको रहेको छ । गुगलले आफ्नो नयाँ बोली अनुवाद सेवाको बारेमा गुणगान गर्नका लागि रोचक भिडियो समेत तयार पारेको छ ।
माइक्रोसफ्टको भिडियो च्याट सेवा स्काइपीले आफ्नो लाइभ ट्रान्सलेसन टुलको बेटा भर्सन गत महिना सार्वजनिक गरेको थियो । जसले बोलेका कुरालाई तत्कालै लेख्य वा कथ्य रुपमा अनुवाद गरिदिन्छ ।
स्काइपीको यो कथ्य अनुवाद तत्कालका लागि अंग्रेजी र स्पेनिस भाषामा मात्र उपलब्ध भएपनि छिटै ४० भाषामा उपलब्ध हुने बताइएको छ ।

0 comments :

Post a Comment

 
Top